पञ्चकोशी संवाददाता दैलेख,। सरकारले सुन तथा बहुमूल्य चिजवस्तुहरूमा अत्यधिक कर लगाएको विरोधमा दैलेखका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। केन्द्रीय कार्यक्रमअनुसार आज दैलेख जिल्लाका सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गरिएका छन्।
दैलेख सुनचाँदी व्यवसाय संघ, दुल्लु सुनचाँदी व्यवसाय संघ र दैलेख रत्न आभूषण संघको अगुवाइमा आन्दोलन गरिएको हो। आन्दोलनको क्रममा आजै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ।
संघका अनुसार सरकारले अटोमेटिक सुनमा पहिले नै कर लगाइसकेको अवस्थामा फेरि अतिरिक्त कर थपिएपछि व्यवसायीहरू र उपभोक्ता दुवै मर्कामा परेका छन्।
दैलेख सुनचाँदी व्यवसाय संघका अध्यक्ष खगीराम सुनारले भने, “अटोमेटिक सुनमा कर लगाइसकेपछि फेरि अर्को थप कर लगाइनुले हामीलाई आन्दोलनमा उत्रिन बाध्य बनाएको हो।”
यस्तै, दुल्लु सुनचाँदी व्यवसाय संघका अध्यक्ष यामबहादुर विकले मागहरू पुरा नभए थप संघर्षका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिएका छन्।
आन्दोलन अन्तर्गत भोलि पनि देशव्यापी कार्यक्रमअनुसार दैलेखका सुनचाँदी पसलहरू बन्द गरिने जानकारी संघले दिएको छ।
सरकारले आर्थिक वर्ष ८२/८३ का लागि सुन र अन्य बहुमूल्य वस्तुहरूमा अतिरिक्त करको प्रावधान ल्याएको थियो, जसको देशव्यापी रूपमा विरोध भइरहेको छ।
