कटारी नगरपालिका वडा नम्बर ६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लाभग्राही श्रमिकहरूलाई रोजगार पूर्व अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिका रोजगार संयोजक विनोद कुमार धमालले रोजगार आयोजना सम्झौतादेखि समाप्ति प्रक्रिया, बेरोजगार तथा उपभोक्ता समितिले पालना गर्नुपर्ने काम, कर्तव्य र अधिकारबारे आवश्यक जानकारी दिएका थिए।

संयोजक धमालका अनुसार ११ जना श्रमिकलाई १०० दिनका लागि रोजगार उपलब्ध गराइनेछ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नम्बर ६ मा साँखुस्थित चिसापानी खोल्सीमा कल्भर्ट निर्माण योजना सञ्चालन हुने जनाईएको छ।
सुरक्षा सामग्री वितरण गर्दै स्वास्थ्यकर्मी राम कुमार दनुवारले श्रमिकहरुलाई काम गर्दा हुने जोखिम बारे जानकारी गराउँदै सुरक्षा सामग्रीको महत्व बारे जानकारी गराएका थिए।
प्रधानमन्त्री रोजगार कार्यक्रमको ७ लाख ३४ हजार ८ सय, वडा कार्यालयको ४ लाख साझेदारी सहित कुल लागत ११ लाख ३४ हजार ८ सय रुपैयाँ रहेको छ। वडा अध्यक्ष प्रेम बहादुर मगरका अनुसार यो आयोजनाले स्थानीय श्रमिकलाई रोजगारी प्रदान गर्नुका साथै भौतिक पूर्वाधार निर्माणमा योगदान पुर्याउने जनाईएको छ ।कार्यक्रममा वडा जनप्रतिनिधि, सरोकारवाला तथा श्रमिकहरूको उपस्थिति रहेको थियो। कटारी नगरपालिकाका अन्य वडामा समेत अभिमुखीकरण सञ्चालन गरिने संयोजक धमालले बताए।