काठमाडौं : शान्ति प्रक्रिया टुंगोमा पुर्याउनका लागि तीन राजनीतिक दलबीच सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि तीन दलका शीर्ष नेताबीच उक्त सहमति जुटेको हो।
प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले नेपाल सरकारले गठन गर्ने दुवै आयोगको नियुक्ति प्रक्रियाका लाग सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको बताए।
‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि सिफारिस समिति, सहज कमिटी गठन गर्ने प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालिएको खरेलले बताए ।
विगत लामो समयदेखि संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगो लाग्न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क हुन नसक्दा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन नसकेको बताएका थिए। उनले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नमा उक्त जवाफ दिएका थिए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ , माओबादी नेता शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी थिए।