राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् ।
शुक्रबार आफ्ना कानुन व्यवसायीसहित अदालत पुगेर जिल्ला अदालत काठमाडौँको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका हुन् ।
लामिछानेले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गरेका छन् ।
लामिछानेले काठमाडौँ जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी लामिछानेले निवेदन दर्ता गराएका हुन् । लामिछानेले दफा ७३ बमोजिम निवेदन दर्ता गराएका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको माघ २ गतेको इजलासले काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।